वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाइने

काठमाडौं— वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाइने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्ड बैठकले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको हो ।
राहत रकम निर्धारण गर्न श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ । बोर्डले २०७४/७५ देखि मृतक परिवारलाई ७ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो ।
बोर्डले २०६५ देखि ७८/७९ सम्म १० हजार ६ सय ६६ जनालाई आर्थिक सहायता रकम उपलब्ध गराइसकेको छ ।
बोर्डले मृतकका परिवारको लागि उपलब्ध गराउँदै आएको वार्षिक शैक्षिक छात्रवृत्ति पनि बढाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १९:४१