रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ जना घाइते

रोल्पा— जिल्लामा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बसमा २२ जना सवार रहेका थिए । बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि भन्ने ठाउँमा दुर्घटना भएको हो ।
रोल्पाबाट दाङका लागि छुटेको बस ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना भएको हो । घटना स्थलबाट उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारपछि उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ । बस सडकदेखि करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १५:५७