
काठमाडौं— सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति भएको छ । दुई पक्षबीच पाँच बुँदे सहमति भएको हो ।
पाँच बुँदे सहमतिसँगै संघर्ष समितिले गर्दै आएको सबै प्रकारका आन्दोलनहरू स्थगित भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
दुई पक्षको सहमतिअनुसार घटनामा संलग्न भएका दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएर शहीद घोषणा हुन बाँकीहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने, मृतकको नाममा शहीत स्मारक बनाउनेलगायत सहमति भएको हो ।
२०६२ चैत ७ गते रौतहटको गौरमा भएको उक्त घटनामा २७ जनाको ज्यान गएको थियो । उक्त घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो ।
यसअघि उक्त घटनाका पीडितहरूले गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी न्याय दिन माग गरेका थिए । यस क्रममा प्रधानमन्त्रीले छिट्टै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाएर ठोस सहमति साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।