News Griha :: न्यूजगृह
बस्ती पसेर मान्छे मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा

चितवन— चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई सोमबार अपराह्न ४:३० बजे खैरहनी-१२ सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो ।

आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो ।

बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि बाघको खोजी गरिरहेको थियो ।

बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो । मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ ।

बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो ।

नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको भाले बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनले प्राविधिक, कर्मचारी र नेपाली सेनाको ठूलो मेहिनतले बाघलाई नियन्त्रणमा लिन सफल भएको बताए ।

नियन्त्रणमा लिएको बाघ सौराहामा रहेको खोरमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा र सौराहामा रहेका खोरमा विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका पाँच वटा बाघ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २१:५२
Weather Update