News Griha :: न्यूजगृह
सय किलो सुन प्रकरण : १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो

काठमाडौं— सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपितलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपितलाई पनि आइतबार साँझ सीआईबीमा ल्याइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

‘आज साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब भोलि सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ’, उनले भने ।

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो ।

उक्त प्रकरणमा अब  सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ । विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २२:१०
Weather Update