News Griha :: न्यूजगृह
लेखर्कबासीकाे मत : साना काम गर्न सक्यौँ भने राज्यको ठूलो लगानी बच्छ

भोजपुर— जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढी पहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी टंक घिमिरेले बताए ।

‘आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ, तर त्यस्तो होइन, हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ, हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौँ ।’

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए ।

त्यस्तै, बाढीका कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष मा¬ङ्पाहाङ्गको भनाइ थियो । यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको उनले बताए ।

‘स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन,’ वडाध्यक्ष माङ्पाहाङ्गले भने, ‘प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ, सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।’

बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङ्गको भनाइ छ । ‘हामीले श्रमदानमार्फत विभिन्न काम गर्दै आएका छौँ,’ उनले भने, ‘खासगरी डम्पिङ क्षेत्र नहुँदा फोहर व्यवस्थापनमा समस्या रहेको छ, नजिकमा रहेको जग्गा स्थानीयबासीको भएका कारण प्लास्टिक तथा बोलतलाई व्यवस्थापन गर्न समस्या छ, यसमा सबै क्षेत्रको सहयोग भए सहज हुने थियो ।’

यहाँ महिनामा दुईपटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर संकलन हुने उनको भनाइ छ । फोहर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङ्गले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:४९
Weather Update