News Griha :: न्यूजगृह
चितवनका ५१ भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

चितवन— चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मान गरिएको छ ।

भारतको महावाणिज्य दूतावास वीरगञ्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रूपमा शनिबार आयोजित कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपू सैनिकलाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्‍याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए ।

उनले भूपूसैनिकहरूले २ देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताए ।

भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताए ।

दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा डा.लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापा लगायतले बोलेका थिए । कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:११
Weather Update