
काठमाडौं— कञ्चनपुर प्रहरीले ३५ वर्षीय कुवेर दमाईको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
कुवेरको हत्या आरोपमा कृष्णपुर नगरपालिका– २ बाणीका २२ वर्षीय अजय दमाई र २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए । अजय मृतकका भतिज र हरिश भान्जा हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए । उनका अनुसार कुवेर, अजय र हरिश तीन जना साउन १५ गते राति बन्द नदीमा पुगेका थिए ।
राति १० बजे नदी किनारमा बसेर उनीहरूले मादक पदार्थ सेवन गरेका थिए । त्यसैबीच अजय र हरिशले घरायसी विषयमा कुराकानी गरेका थिए । करिब ११ बजेपछि विवादले उग्र रूप लिएपछि भतिज अजय र भान्जा हरिशलेकुवेरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
दुई जनाले ढुङ्गाले टाउकोमा हिर्काएर हत्या गरेको डीएसपी डाँगीले बताए । कुवेरको घटनास्थल मै मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। घटनापछि उनीहरूले कुवेरको शव खाल्डो खनेर पुरेका थिए । कुवेरको शव घटनाको चार दिनपछि बिहीबार फेला परेको थियो ।
पक्राउ परेका दुई जनालाई आइतबार जिल्ला अदालतमा पेश गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।