News Griha :: न्यूजगृह
महोत्तरीलाई सुक्खाक्षेत्र घोषणा गर्न माग 

महोत्तरी— महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । शुक्रबार सम्पन्न जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।

जिल्लामा कार्यरत राजनीतिक दलहरु, विभिन्न कार्यालयका सूचना विज्ञ, कृषिसम्बद्ध विज्ञ, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सबै (१५ वटै) स्थानीय तहका प्रमुख (नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष) र विपद् व्यवस्थापन समितिका सदस्यहरुको सर्वपक्षीय बैठकले जिल्लालाई सुक्खाक्षेत्र घोषणा गरिन सरकारसमक्ष माग गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

‘सबै क्षेत्रबाट खेतीबारे तथ्यगत अवस्थाको रिपोर्टिङ भयो, मुख्य बाली धान लगाउन नसकिएको, लामो खडेरीले अन्य बाली पनि सुकेका र पानीका स्रोतका मुहान सुक्दै गएर खानेपानीको समेत हाहाकार परेको छ’,अध्यक्ष पहाडीले भने,‘यो अवस्थाको सम्बोधनका लागि तत्काल सुक्खाक्षेत्र घोषणा गरेर राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरिएको हो ।’

बैठकमा कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख डा.रामचन्द्र यादवले पानीकै अभावमा धान रोपाइँ निकै पछि परेको, केही ठाउँमा रोपिएको धान पनि खडेरीले रोपोमै सुकाएको जानकारी दिए ।

जिल्लाभित्र यसपालि साउन तेस्रो साता बित्दै गर्दासम्म १५ वटै स्थानीय तहको रोपाइँको अवस्था सालाखाला हिसाब गरिँदा  २० दशमलव ४० प्रतिशतमात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्यांक छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३१
Weather Update