
काठमाडौं— एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप अनुसन्धान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि सीआईबीले उक्त प्रकरणमा संगठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सीआईबीले अनुसन्धान थाल्ने जानकारी दिए ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको सय किलो सुन बरामद गरेको थियो ।
उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैंले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र उक्त प्रकरणमा थप अनुसन्धान सीआईबीबाट गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर अघि बढ्ने बताए ।