राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का
काठमाडौं— उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन् ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिकलगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे ।
‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ । यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरूले ग्रहण गर्नुहुनेमा विश्वास छ’, उनले भने ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १८:५५