News Griha :: न्यूजगृह
१३ वर्षीय बालक बेपत्ता भएपछि सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन सुरु

काठमाडौं— काठमाडौंको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरु भएको छ । काठमाडौं महानगर नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए ।

काठमाडौं महानगरले उक्त खोलामा झण्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरू विस्तारै भत्काउने महानगरले जनाएको छ ।

गत साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेर बेपत्ता भएका थिए । उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:२२
Weather Update