News Griha :: न्यूजगृह
सशस्त्रले बुझायो तस्करीको सात करोडको सामान भन्सारलाई

महोत्तरी— सशस्त्र प्रहरीले भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो ।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो ।

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन् । बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन तीन करोड ४३ लाख मूल्यबराबरका रहेका छन् ।

यसैगरी २३ लाख ८२ हजारको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए ।

बरामद गरिएका अन्यमा एक करोड नौ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री ९१ लाख ६० हजारका कपडा २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:०४
Weather Update