News Griha :: न्यूजगृह
नेताकार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति [वक्तव्यसहित]

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टाराईले कानुन व्यवसायी भगवती पाण्डे पक्राउ प्रकरणमा प्रहरीले नेसपाका नेताकार्यकर्तालाई पक्राउ गरी चरम यातना दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

डा.भट्टराईले बिहीबार प्रेस वक्तव्य जारी गर्दै पाण्डेलाई पक्राउ गर्न माग गरेका केन्द्रीय सदस्य दिलमाया मोक्तानलगायत नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् ।

वक्तव्यमा भनिएको छ,‘शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौँलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भर्त्सना गर्दछौँ ।’

तामाङ, मगरलगायतका जातजाति तथा संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यवसायी पाण्डेलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । बुधबार पाण्डेलाई पक्राउ गर्नुपर्ने माग राख्नै उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा घेराउ गर्न गएका थिए ।

nesapa1691079701.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २२:०६
Weather Update