News Griha :: न्यूजगृह
वृद्धा भत्ता निकालेर हिनामिना गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस
सांकेतिक तस्बिर

म्याग्दी— जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ । 

वडा सचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।

गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडा सदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

साउन २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण संकलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिए । उक्त समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधवारको कार्यपालिका बैठकमा पेस गरेकोे थियो । 

आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

वडा सचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार रुपैयाँ हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ ।

लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आवश्यक छानबिन गरेर कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबादुर भण्डारीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १४:५३
Weather Update