
सुनसरी— गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिमिल्सिना र सुनसरी धरान उपमहानगर–१० का ३४ वर्षीय अनसन राई रहेका छन् ।
इटहरी उपमहानगर–२० सेउती पुलमा मोरङ विराटनगर महानगर–५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, गोली नौ राउण्ड, म्यागजिन दुई थान, खुकुरी दुई थान, औँठी एक थान र गोलीको खोका एक बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले उक्त पुलमा धरानबाट इटहरीतर्फ जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगर–३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए ।
गम्भीर घाइते भएका चौधरीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेकामध्ये तिमिल्सिना बलात्कारको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअगाडि छुटेको र तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी दुई वर्षअगाडि छुटेको प्रहरीले जनाएको छ ।













