
काठमाडौं— प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख छ ।
विधेयकमा सामुदायिक विद्यालयका कर्मचारीसम्बन्धी पनि विशेष व्यवस्था गरिएको छ । अविछिन्न सेवा गरेका र उमेर हद ६० वर्ष पूरा भई सेवाबाट अलग भइसकेका विद्यालय कर्मचारीलाई अवकाश हुँदा काम गरेको पदसँग समान हुने निजामती सेवाको पद वा श्रेणीको सुरु स्केलको दरले प्रतिवर्ष बढीमा २० वर्षको सेवा अवधि मानी एकमुष्ट रकम दिइने व्यवस्था विधेयकमा छ ।
त्यसैगरी पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम, १० वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको आखिरी एक महिनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम दिएर बिदा गर्ने व्यवस्था पनि विधेयकमा छ ।
कानूनत स्वीकृत विद्यालय कर्मचारीको दरबन्दीमा पदपूर्ति गर्दा ऐन प्रारम्भ हुँदाका बखत कार्यरत रहेका कर्मचारीहरू मध्येबाट एक पटकको लागि आयोगले तोके बमोजिम विज्ञापन गरी आन्तरिक प्रातियोगिताद्वारा पदपूर्ति गर्ने, विज्ञापनमा उम्मेदवार हुन १० वर्षभन्दा बढी सेवा गरेको कर्मचारीलाई उमेरको हद नलाग्ने लगायत स्थानीय कानूनमा समावेश गरिनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस



















