
काठमाडौं— नेपाल शिक्षक महासंघले नेपाल सरकारले आवश्यक छलफल र सहकार्यविनै शिक्षा विधेयक (शिक्षा ऐन) अगाडि बढाउन लागेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।
मिडिया तथा सामाजिक सञ्जालमा शिक्षा ऐनको मस्यौदा भेटिएको बताउँदै महासंघले त्यसमा शिक्षक तथा कर्मचारीका कुनै पनि माग मुद्दा सम्बोधन नगरिएको पाइएको जनाएको छ ।
महासंघले बुधबार वक्तव्य जारी गर्दै शिक्षा विधेयकलाई शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका र षडयन्त्रको रूपमा बुझेको बताएको छ ।
महासंघकी अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘सरकारले आधिकारित रूपमा एउटा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासंघसँग नयाँ ऐनका सम्बन्धमा आवश्यक सहकार्य र छलफ गरेको छैन । यस घटनाले शिक्षक–कर्मचारीका माग मुद्दा र हकहितमाथि धोका र षडयन्त्रको लक्षणरूपमा हामीले बुझिरहेका छौैं ।’
उक्त धोका र षडयन्त्रको प्रतिरोध गर्न कडा आन्दोलनको कार्यक्रमसहित आउने महासंघले उद्घोष गरेको छ ।














