
काठमाडौं— विनित सोनारको विष सेवनका कारण मृत्यु भएपछि मिटरब्याज पीडितले काठमाडौंमा विरोध सभा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, मोरङमा विष सेवन गरेका कटहरी गाउँपालिकाका सोनारको मृत्यु भएपछि उनका सहकर्मीले काठमाडौंको भृकुटी मण्डपमा विरोध सभा गरेका हुन् ।
मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिको केन्द्रीय सदस्य विशाल राना क्षेत्रीले भने,‘विगत ३४ महिनादेखि हामी आन्दोलनमा छौँ । साउन ७ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा मिटरब्याजसम्बन्धी छलफलमा सहभागी भएर फर्कने क्रममा करिब ३२ वर्षीय सोनारलाई विष सेवन गर्न बाध्य पारिएको हो ।’
सोनारले डा.नितेश तिवारीसँग ७ लाख रुपैयाँ, प्रदीप भुजेलसँग २ लाख, र विनोद ढकालसँग ६ लाख रुपैयाँ लिएका थिए ।
भुजेल र ढकालले चेक बाउन्स भएको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । सोही जाहेरीका आधारमा सोनारलाई पक्राउ गर्न प्रहरी प्रशासन कार्यालय पुगेको थियो ।













