
काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन् ।
बुधबार केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव शर्माले राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान गरिरहेको बताएका थिए ।
‘अनुसन्धान गर्ने निकाय सरकारकै हो, सरकारकै निकायले गरिराखेका छन्, सरकारले पक्रेको छ, सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनु पर्ला ?,’ उनले भने, ‘सरकारले पक्रेको कुरामा अहिले उच्च स्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीका टिप्पणी गर्ने ठाउँ भइहाल्छ नि ।’
उपमहासचिव शर्माले एमालेलाई अहिले सरकारकै निकायले गरिरहेको छानबिनमा सहयोग गर्न आग्रह गरे ।