News Griha :: न्यूजगृह
माछा मार्न जाँदा साथीको हत्या गरेको अभियोगमा पाँच जना जेल चलान
फाइल तस्बिर

काठमाडौं— भोजपुरमा माछा मार्न गएको अवस्थामा साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । 

भोजपुर नगरपालिका ११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका ८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । 

उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालतको मंगलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले जानकारी दिए ।

गत असार २२ गते भोजपुर १२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सात जना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए ।

छ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । उनका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:५७
Weather Update