News Griha :: न्यूजगृह
कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ

काठमाडौं— काठमाडौं उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो ।

सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । अभियुक्त तामाङलाई पक्राउ गरेको कार्कीले बताए ।

यसैबीच काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २२:०८
Weather Update