
पोखरा— अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले रु १५ लाख सहयोग गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्या.भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण र नगद सहयोग गर्ने जानकारी दिए ।
प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताए । ‘पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृङ्खलाको काखमा रहेको सहर हो । हिमाल विनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ’, आचार्यले भने ।
पछिल्लो समय हिमालमा बढेको मानवीय गतिविधिका कारण वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।
नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियानअन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्न लागिएको बताए ।
हिमाल र ती हिमालको आधारशिविरमा बढीरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहर व्यवस्थापन वातावरणीय दृष्टिकोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनले बताए ।
सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई आठ हजार मिटरभन्दा माथिका सबै हिमालमा सञ्चालन गरिने उपरथी बानियाँले बताए ।