काठमाडौं— कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् ।
बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताएका हुन् ।
उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताए । उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए ।
का.मु. प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधिले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताए ।
‘म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने न्याय पर्दैन । त्यहाँ पूर्वाग्रह हुन्छ । जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन,’ कार्कीले भने ।
कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताए ।