News Griha :: न्यूजगृह
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम, यात्रुलाई सास्ती

गलेश्वर— राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैं सास्ती हुने गरेको छ ।

सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैं जोखिममा पर्ने गरेका छन् ।

बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो ।

छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।

कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ ।

साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन–चारपटक सडक अवरुद्ध हुन्छ ।

घण्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ । सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ ।

दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए ।

‘जीर्ण र पहिराेको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ’, उनले भने  ‘सामान्य अवस्था भए बेनीबाट  चार घण्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।’

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए ।

गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ ।

म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।

यसैगरी बेनी–दरबाङ सडकखण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्रयाक खुलेको १८ वर्ष बितिसक्दा पनि पहिराेको समस्या समाधान हुनसकेको छैन ।

वि.सं. २०६२ मा ट्रयाक खुल्नुअघिको पहिरोको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडकखण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ ।

पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडकखण्डका सवारी चालक वीरबहादुर विकले बताए ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् ।

मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिराेले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:१२
Weather Update