News Griha :: न्यूजगृह
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन नै मुस्किल

भोजपुर—  भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।

मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् ।

धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।

बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए ।

बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको आठ/दश वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ । ‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ’,स्थानीयजासी प्रधानले भने । बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् ।

बाँदर आतंका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

यहाँका २० भन्दा बढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । ‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ’, वडाध्यक्ष नेपालले भने,‘यहाँको मुख्य समस्या नै बाँदर बनेको छ । नियन्त्रण गर्न धेरै उपाय लगाइयो । दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ । बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ ।’

बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनु पर्ने वडाध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:२५
Weather Update