आफ्नै गोठमा आगो लगाउने पक्राउ

तेह्रथुम— आफ्नै गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छथर गाउँपालिका— ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत छन् । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको खबरपछि इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ३ वटा गाई र १० वटा खसी, बाख्रा जलेर मरेका छन् । गोठ नजिकैको घरमा समेत आगो फैलिएर आगलागी भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामदको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:४१