गौर घटनाका दोषीलाई कारबाही माग गर्दै चन्द्रपुरमा धर्ना
रौतहट— १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै शनिबार रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।
२८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।
वि.सं.२०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा) का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो ।
घोषित कार्यक्रमअन्तर्गत शनिबार चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० २१:४८