काठमाडौं— काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ ।
कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ । अनुगमन कार्यका लागि कामपा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिने छ ।
प्रहरीको क्षेत्रबाट चार टोली र केन्द्रबाट एउटा टोली गरी पाँच वटा टोली परिचालन हुने कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी थप कारबाही गरिने छ ।
प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामान चाहिँ प्रयोग गर्न नपाइने प्रमुख श्रेष्ठले बताए । कामपाका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान सुरु भइसकेको उनले जानकारी दिए ।
अनुमगनका क्रममा सबैभन्दा पहिले आयात, भण्डारण बिक्री स्थलमा गएर ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकको प्रयोग निषेध गरिने छ ।
कामपाले पोलिथिनकै कारण ल्याण्डफिल साइट व्यवस्थापन गर्न कठिन भएको बताएको छ । प्लास्टिकमा रसायन प्रयोग गरिएको हुन्छ । यसकारण प्लास्टिक बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरू उत्सर्जन हुन्छन् जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छालासम्बन्धी रोग लाग्ने खतरा हुने बताइएको छ ।
फोहोरमा धातु, सिसा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहोर छ । नदीलाई प्रदूषण गराउन प्लास्टिकको ७० प्रतिशत भूमिका छ । काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।