
काठमाडौं— नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र मधेस प्रदेशका पश्चिमी भू–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जानकारी गराउँदै पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मेघगर्जन र चट्याङसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।