मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले के भने ?

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रमाणित गरेसँगै ऐन बनेको जानकारी दिएका छन् ।
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको उनले उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,‘मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपछि आजदेखि ऐन बनेको छ । सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको छ । यो अभियानको लागि ऐन कोशेढुङ्गा बनेको छ । सबैलाई बधाई ।’
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० ०६:०६