
राजविराज— मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुंगो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ ।
सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ । निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
उनले भने,‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ । छिटोभन्दा छिटो मुद्दा टुंगियाेस् भन्ने हाम्रो चाहना छ ।’ उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।
पीडित र पीडकको तर्फबाट एक/एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए ।
आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको र १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिए ।