News Griha :: न्यूजगृह
पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा,तत्कालीन सब–इन्जिनियर श्याम किशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्यांकन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ ।

यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरु विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:०२
Weather Update