
वीरगन्ज— खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्यांकरबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्यांकरबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्यांकी नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।
महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।
बिहान ५:०० देखि राति ८:०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहको भनाइ छ ।
ट्यांकरबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सात वटा वडाको विभिन्न स्थानमा अस्थायी ट्यांकी राखिएको महानगरपालिकाले जनाएको छ ।
यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।
खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए ।
बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।
यता वीरगन्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख ईनीरन महर्जनले जानकारी दिए ।
प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घण्टा धारामा पानी पठाउँदै आएको छ । कुल एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् ।