News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ

कञ्चनपुर— अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाए ।

गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्यूरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।

चार महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआईपी पिविएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआईपी पीवीएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सिपियु एक थान, एनटिसी एफटिटीएच वाइफाइ राउटर एक थान, वर्डलिक वाइफाइ राउटर एक थानलगायत बरामद गरिएको छ ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ । ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक थापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तीनै जनालाई बुधबार (साउन १० गते) पक्राउ गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २१:१८
Weather Update