म्याग्दीको चक्रीय र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगायो

म्याग्दी— म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ ।
नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो ।
सडक सुविधा नपुगेको सिम्कोश–बगर म्याग्दीको भौगोलिकरुपमा विकट र दुर्गम बस्ती हो । बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पहिरोले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए ।
‘बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ’,उनले भने,‘बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश बगर गाउँमा आवतजावत बन्द भएको छ ।’
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० ०७:३३