News Griha :: न्यूजगृह
घुस लिएको आरोपमा प्रहरी पक्राउ

काठमाडौं— घुस लिएको आरोपमा प्रहरी पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा बुधबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बूढानीलकण्ठ नगरपालिका–२ वासिकबाट पक्राउ गरिएको जानकारी दियो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वरिष्ठ हवल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २२:०७
Weather Update