
काठमाडौं— वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपाली युवा अलपत्र परेका छन् ।
गत माघ ७ गते साउदी पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।
दुई महिना बितिसक्दा पनि आफूहरू रोजगारविहीन भएको राईले बताए । राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रा.लि., काठमाडौं मार्फत् साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए ।
उनीहरूलाई मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रूपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्याइएको हो ।
‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देऊ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’
अलपत्र युवा उद्धारको प्रतिक्षामा छन् ।