बाढीमा फसेका २ जनाको उद्धार
रूपन्देही— बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
बुटवल उपमहानगरपालिका— ११ मजुवास्थित तिनाउ नदीकोबीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल—१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको हो ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ । दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १०:१५