News Griha :: न्यूजगृह
बागलुङमा नेपाल प्रहरीका वरिष्ठ सईले गरे आत्महत्या 

काठमाडौं— बागलुङस्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठसई) उज्वल पौडेलले आत्महत्या गरेका छन् ।

बडिगाड गाउँपालिका— ६ स्थित एक होटलमा पासो लगाएर उनले आत्महत्या गरेका हुन् । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार घटना मङ्गलबार बिहान साढे १२ बजेतिरको हो । ‘घटना भएपछि होटल सञ्चालकले मलाई बिहान १ बजेतिर फोन गरेर जानकारी गराएका हुन्,’ उनले भने । 

‘पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’ जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल प्रस्थान गरेको छ । तर वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:०९
Weather Update