
चितवन— गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।
मृतकका परिवारलाई जनही १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् ।
गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात,भालुको आक्रमणबाट सात, जंगली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
जंगली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ । यसको राहत स्वरुप ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ ।
भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए ।
जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।