News Griha :: न्यूजगृह
पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५/७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ ।

त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीत कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ ।

प्रवक्ता दाहालले भने,‘सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको पाइएको हो ।’

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:५६
Weather Update