
काठमाडौं— इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा हुने भियनास्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।
उनले आज सोमबार पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।
प्रधानमन्त्री दाहाल इटालीमा रहँदा खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।