
बैतडी— बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको संक्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए ।
पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । ‘गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा पर्यो, परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो,’ उनले भने ।
सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा यो रोगको संक्रमण देखापरेको भए पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूपमा देखापरेको प्रमुख पन्तले बताए ।
गाई, गोरु, भैँसीमा यो रोग देखापरेको भए पनि गाई र गोरुमा बढी संक्रमण देखापरेको बताइएको छ । संक्रमण बढेपछि पशुचौपाया मर्ने गर्दछन् ।
पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तिमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ ।