News Griha :: न्यूजगृह
पदम लिम्बू मृत्यु प्रकरण : के गर्दैछ छानबिन समिति ?

विराटनगर— नामकरणपछि तनावग्रस्त बनेको कोशी प्रदेशको स्थितिलाई सामान्य बनाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आज राय, सल्लाह र सुझाव लिने काम गरेको छ ।

कोशी प्रदेश नामकरणको विरुद्धमा लागेका समूह, राजनीतिक दल, मानव अधिकारवादी, सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी रहेको सो बैठकमा आन्दोलन पक्षधरले आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बूलाई राज्यले शहिद घोषणा गर्नुपर्ने, प्रदेशको नाम खारेज हुनुपर्ने र पीडित परिवारलाई उचित सुविधा दिनुपर्ने माग राखेका छन् ।

प्रहरीले लिम्बू चैत्र ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएको बताएको छ । तर आन्दोलनकारीहरूले चैत्र ५ गते नै घाइते भई उपचारका लागि प्रतिष्ठानमा भर्ना गराएको बताएका छन् । घाइते लिम्बूको चैत्र ८ गते अस्पतालमै मृत्यु भएको थियो ।

सोही विषयमा मंगलबार भएको आन्दोलनमा प्रहरीले नियन्त्रण बाहिर गएको आन्दोलन नियन्त्रणमा लिन १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको थियो । बैठकमा आन्दोलनकारी समूहका भविराज लिम्बू, अर्जुन जङ्गली राई, ज्ञानबहादुर गुरुङ सहभागी थिए ।

नेकपा एमाले मोरङका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले आन्दोलन शान्तिपूर्ण वातावरणमा हुनुपर्ने भन्दै कोशी नाम नाजायज नभएको र यसले सम्पूर्ण प्रदेशवासीको सभ्यतालाई झल्काएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझी, नेकपा एकीकृत समाजवादीका कविराज घिमिरे, इन्सेक मोरङका संयोजक सोमराज थापा, संवाद समूहका मोहम्मद कादिरलगायतले बाेलेका थिए ।

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक रामबन्धु सुवेदीको समुपस्थितिमा भएको सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २१:४१
Weather Update