
नवलपरासी— (बर्दघाट–सुस्तापूर्व) मा लम्पी स्किनका कारण ६ हजार २४ पशुचौपाया संक्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक डा.ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए ।
‘जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ’,उनले भने,‘लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।’
उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको संक्रमणदर उच्च रहेको बताए । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा.चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट संक्रमित भएका जानकारी दिए ।
मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी संक्रमित भएका उनले बताए ।
चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ संक्रमित भएका छन् ।