News Griha :: न्यूजगृह
मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न माग

काठमाडौं— अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले तत्काल मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न माग गरेको हो ।

मिटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुदखोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।

महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्न माग गरे ।

उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासंघले आग्रह गरेको छ ।

ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटरब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गर्न महासंघको माग छ ।

महासंघले मिटरब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई न्याय प्रदान गर्न माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:५१
Weather Update