News Griha :: न्यूजगृह
मनाङमा यार्तुङ मेला सुरु

मनाङ— मनाङमा यार्तुङ(घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए ।

‘विशेष गरी नाचेर पर्व मनाउने गरिन्छ,’ उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाइ सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’

सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए । यस पर्व पाँच दिन मनाउने प्रचलन छ । घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । ‘घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्तरुपमा पुजिने पर्व हो,’ उनले भने, ‘घोडा मनाङको विशेष महत्वको साधनको रुपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ ।’

बौद्धको भाषामा वर्षायाममा रोगव्याधी बाट संरक्षण गरिनु नै यसको मुख्य महत्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्ष गरेको छ । उनका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ । यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको उनको भनाइ छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । 

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधी नलागोस् भनेर परम्परागत रुपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको बताए । उनले भने, ‘पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौँ ।’ 

यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागिरलगायतका कारणले गर्दा युवा कम हुँदा सहभागिता घटेको उनले बताए । ‘यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौँ,’ उनले भने । मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन् । विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले बताए ।

पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पुर्‍याउन घोडा प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्‍याउने गरिएको छ । 

हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरूपमा घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेन्जिङ लामाले बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:५८
Weather Update