
जुम्ला— गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगजनी गरेको छ ।
गुठीचौर– ४ का सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए। उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको छ ।
धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्याक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए ।
आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।
उनले भने, ‘विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाएका छौ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ प्रहरीलाई घटनाको जानकारी गएराति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।
गुठीचौरमा सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।