
बैतडी— जयपृथ्वी राजमार्गमा खसेको पहिराेले बैतडीको एक बस्ती नै उच्च जोखिममा परेको छ । बैतडी सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा खसेको पहिराेले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो ।
सडकबाट खसेको पहिरोले १० भन्दा बढी घर जोखिममा रहेको स्थानीय दीपक कुवँरले जानकारी दिए । लगातार सडकबाट पहिरो खस्दा स्थानीयवासीको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन् ।
उनले भने,‘लगातारको वर्षासँगै सडकबाट खसेको पहिराेले मकैबालीसहित खेत बगाएको छ । हाम्रो उठीवास हुने अवस्था आएको छ ।’
पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पुर्याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको हो ।
‘पहिराेले हाम्रो बस्ती नै जोखिममा परेको छ । पहिराेबाट हुने क्षति कम गर्नका लागि सरकारसँग माग गरेका भए पनि कुनै सुनुवाइ हुन सकेको छैन’,अर्का स्थानीय चक्र कुवँरले भने ।